काठमाडौं । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा रहेको श्री स्टिल्स कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको छ । अघिल्लो आर्थिक वर्ष (सन्२०२४) मा यस कम्पनीले ४ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस कम्पनीको सन् २०२३ को व्यापार ७ अर्ब ४ करोड ५० लाख रुपैयाँ थियो । सन् २०२४ र २०२५ का आर्थिक वर्षमा भने कम्पनीको व्यापार २०२३ कोभन्दा घटेको कम्पनीले जनाएको छ । रुपन्देही जिल्लाको भैरहवास्थित आफ्नो कारखाना सञ्चालन गरिरहेको यस कम्पनीले सन् २०२२ मा ६ अर्ब १३ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यता स्टिल्स कम्पनीको सञ्चालन नाफा अनुपात क्रमिक सुधारको अवस्थामा रहेको छ । सन् २०२१ मा ४.४ प्रतिशत सञ्चालन नाफा गरेकाे यस कम्पनीले सन् २०२२ मा २.३ प्रतिशतमात्र यस्ताे नाफा गरेकाे थियाे । तर, सन् २०२३ देखि कम्पनीकाे यस्ताे नाफा सुधार भएकाे छ । सन् २०२३ मा यस कम्पनीले यस्ताे नाफा ८.६ प्रतिशत, सन् २०२४ मा १०.२ प्रतिशत र सन् २०२५ मा कम्पनीले १२.९ प्रतिशत गरेकाे छ ।
सन् २०१६ मा स्थापना भएको श्री स्टिल्स नेपालका स्टिल उद्योगका नयाँ प्रवेशकर्तामध्ये एक हो। यो कम्पनी सन् २०२२ सम्म ‘टीएमटी’ बार र वायर उत्पादन गर्ने दोस्रो श्रेणीको स्टिल निर्माता रूपमा काम गर्दै आएको थियो। सो वर्षपछि कम्पनीले आफ्नो स्टिल मेल्टिङ्ग सप ‘एसएमएस’प्लान्ट सफलतापूर्वक सञ्चालनमा ल्याउँदै बिलेट उत्पादनमा ब्याकवर्ड इन्टिग्रेसन हासिल गरेको हो।
कम्पनीको ‘टीएमटी’ बार उत्पादन क्षमता करिब १ लाख ५० हजार मेट्रिक टन प्रति वर्ष रहेको छ । कम्पनीले आफ्नै ब्रान्ड नाम अन्तर्गत ‘टीएमटी’ स्टिल बार उत्पादन गर्छ। सन् २०२५ को मध्ये जुलाईसम्म कम्पनीको स्वामित्व नौ जना सेयरधनीहरु रहेका छन् । जसमध्ये तीन व्यापारिक समूहका आठ जना व्यक्ति रहेका छन् ।
यसम एक विदेशी लगानीकर्ता रहेको छ । व्यापारिक समूहहरूमा सिद्धार्थ समूहको ४० प्रतिशत, केडिया समूहको २० प्रतिशत, र मुरारका समूहको २० प्रतिशत सेयर स्वामित्व रहेको छ। साथै यस कम्पनीमा जगदम्बा इन्भेस्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको २० प्रतिशत र विदेशी प्रत्यक्ष लगानी रहेको छ।
कम्पनीले अल्पकालीन र दीर्घकालीन ऋण गरेर ५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँको ऋणको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाको लागि १ अर्ब ३३ करोड ८२ लाख रुपैयाँको कर्जाको रेटिङ गराएको छ भने अल्पकालीन ऋणको लागि ४ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ ।
कम्पनीको ऋणलाई इक्रा नेपालले ‘इक्राएनपी एलबी प्लस’बाट इक्राएनपी एल डबल बी’ स्तर उन्नति गरेको हो । साथै कम्पनीको अल्पकालीन ऋण रेटिङ ‘इक्राएनपि ए फोर’ यथावत् कायम राखिएको छ।
रेटिङमा भएको सुधारले कम्पनीको ऋण तिर्ने क्षमता मध्यम स्तरको भए पनि तुलनात्मक रूपमा सुधारोन्मुख रहेको संकेत गर्छ। इक्रा नेपालका अनुसार, कम्पनीले आफ्नो कर्जा तिर्ने दायित्व पूरा गर्न सक्षम देखिएको छ । तर जोखिम स्तर अझै पनि मध्यम श्रेणीमा रहेको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्