Skip to content

गोल्छा ग्रुपले सञ्चालन गरेको नियोटेरिकले एक वर्षमा करिब साढे ३ अर्बको  व्यापार गर्यो 

nabil bank
काठमाडौं ।  आइटीसहित ल्यापटप र सर्भर बिक्री गर्ने बिक्रेता नियोटेरिक नेपालले एक वर्षमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।  गोल्छा समूहको हिम इलेकट्रोनिक्स प्रालिको स्वामित्व रहेको यो कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको छ । सन् २०२४ मा यस कम्पनीले ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
व्यापार सामान्य घटेको भएपनि कम्पनीको कुल आम्दानी बढेको छ । सन् २०२४ मा ५.१८ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२५ मा ५.३४ प्रतिशत आम्दानी गरेको छ ।  यसैगरी, कम्पनीले सन् २०२३ मा  ६.७० प्रतिशत आम्दानी गरेको थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६८ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५१ करोड २९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
सन् २००४ मा स्थापना भएको कम्पनी आइटी क्षेत्र र डेल ल्यापटप तथा सर्भरको आधिकारिक बिक्रेता हो । कम्पनी नोकिया कर्पोरेसनको टेलिकम सामग्री बेच्ने आधिकारिक विक्रेता समेत हो । कम्पनीले नेपालमा ३० वटाभन्दा बढी ब्रान्ड र एक हजारभन्दा बढी सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डेल टेक्नोजि, डेल इएमसी, नोकिया, हाइकभिजन, पिपललिंक, एसएपी र अन्य कम्पनीसँग वितरकको लागि सम्झौता गरी नेपालमा व्यापार गर्दै आएको छ । कम्पनीको देशभर पाँच वटा शोरुम छन् ।
कम्पनीले चीन, मलेसिया र भारतबाट सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी सूचना तथा प्रविधि क्षेत्रको सामग्री आयात गर्ने सबैभन्दा ठुलो कम्पनी हो । कम्पनीको संस्थागत संस्थापक सेयरधनी हिम इलेकट्रोनिक्स हो भने व्यवसायी शेखर गोल्छा नेतृत्वमा रहेको गोल्छा ग्रुपका केही व्यक्तिको पनि लगानी छ । हिम इलेक्ट्रोनिक्स नेपालको लागि सामसङ ब्रान्डको आधिकारिक विक्रेता हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime