Skip to content
Prabhu

मकवानपुरको छुट्टाछुटै दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

बागमती । मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा गए राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानरपालिका–१३ का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौंडा अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोकिएर दुर्घटना भएको आशङ्का गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धानका लागि ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

त्यस्तै, हेटौँडा–५ बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५ शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । बाप्र०३–००१ त ३१८ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ ट्रयाक्टर चालक वाइबा घाइते भएका थिए ।

फर्पिङ्ग–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खमा आज भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् ।

काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal