वासिङटन । मंगलबार अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा स्थानीय समयअनुसार साँझ ५ः१५ बजे युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित ४ जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
उक्त जहाज लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईनाको होनोलुलुका लागि उडेको थियो। जहाज उडेको केहीबेरमै त्यसको पंखामा आगो लागेको थियो। पंखामा आगो लागेको केही क्षणमै जहाज विस्फोट औद्योगिक भवनहरू रहेको ठाउँमा खसेको थियो।
त्यहाँ रहेका संरचनाहरूमा पनि आगो लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जमिनमा रहेका कम्तिमा १९ जना घाइते भएको लुइसभिलका मेयर ग्रिनबर्गले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
चालक दलका तीन सदस्यबाहेक मृत्यु भएका अर्का एक व्यक्ति त्यस क्षेत्रका स्थानीय हुन्। घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
जहाज दुर्घटना भएको ठाउँ वरपर ८ किलोमिटरसम्मको क्षेत्रमा मानिसहरूलाई सुरक्षित रहन भनिएको छ। उक्त कार्गो जहाजले ३८ हजार ग्यालिन इन्धन बोकेको बिबिसीले जनाएको छ। उक्त इन्धन झन्डै १ लाख ४४ हजार लिटर रहेको भनिएको छ।
उक्त जहाज ३४ वर्ष पुरानो एमडी–११ फ्रेटर मोडेलको रहेको पनि रोयटर्सले जनाएको छ। यो विमान म्याकडोनेल डगलस कम्पनीले बनाएको हो।






प्रतिक्रिया दिनुहोस्