Skip to content

कमलामाई नगरपालिकाद्वारा विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

nabil bank

सिन्धुली । कार्यालयको समयमा सधैंजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए ।

हेटौंडाको सिमलथली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ती बाख्रा ल्याइएको थियो । कानमा पहेँलो रङ्गको मुद्रा (बिमा गरिएको सङ्केत नम्बर) लगाइएका ती बाख्रा गाडीभित्र कराउन थाले । नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, नगर पशु विकास शाखा प्रमुख रोशन कोइरालालगायतले गाडीमा रहेका ८३ वटा बाख्रा झारेर कार्यालय पछाडि रहेको खुल्ला जमिनमा चराउन थालेका छन्।

सोही ठाउँमा कनपा–११ का वडाध्यक्ष रामबहादुर थिङ्ग र कनपा–१२ का वडाध्यक्ष भीमबहादुर गुर्मछानेले आ–आफ्नो वडामा रहेका विपन्न तथा एकल महिलालाई लिएर आए । नगर प्रमुख पोखरेल र उपप्रमुख देवकोटाले ४० जना लक्षित वर्गलाई चरिरहेका बाख्रा प्रदान गरे ।

उन्नत जातका बाख्रा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् । कनपा–१२ भ्याकुरेका देवीबहादुर आलेमगरले बीमा गरिएको सङ्केत नम्बर ४८४७ र ४८७० को बाख्रा पाए । नगरबाट निःशुल्क बाख्रा पाउँदाको खुसी उनको अनुहारमा छरपष्ट छरिएको थियो । उनले भने, ‘व्यावसायिक रुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन । आज सरकारले दुईवटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो ।’ अब बाख्रापालनको लागि खोर बनाउन सहयोग गरिदिए सहज हुने उनले बताए ।

विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ । सोही योजनाअनुरुप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमका लागि चालु आवमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले दुई सय आठ ओटा बाख्रा खरिद गरेर कनपाका पाँच वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख कोइरालाले जानकारी दिए।

विद्युतीय प्रणाली बिजक (इलेक्ट्रोनिक विलिङ) मार्फत ५९ लाख ८० हजार रुपैयाँ मा दुई सय आठवटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये एक सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ । किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

नगर पशु विकास शाखाका अनुसार बोयर जातको बाख्राको पाठा–पाठी छिटो–छिटो बढ्ने र हुर्कने गर्दछन् । यसको तौल दैनिक दुई तीन सय ग्रामसम्म बढ्दै जान्छ । गाउँघरमा अन्य बाख्रा जस्तै गरी स्थानीय घाँस दाना खुवाएर पाल्न सकिन्छ ।

बाख्रा वितरणको लागि कमलामाई नगरपालिकाले मापदण्ड बनाएको छ । वितरण मापदण्डअनुसार वडा समितिले निर्णय गरेर, गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ । वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको कनपा उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताए । उनले भने, ‘कृषि तथा पशुपालनको लागि वडा–वडामा प्राविधिक खटाएका छौँ । नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime