Skip to content

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान

nabil
global ime

म्याग्दी । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् ।

जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् ।

दुई÷चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो । त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताए ।

पश्चिम म्याग्दीका प्रायःसबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए । विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरु बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिए।

‘केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्’, विकले भने । विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले बिक्री हुने उनले बताए ।

त्यसैगरी फापरको पनि बजारमा माग बढेको छ । विशेषगरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन् । पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला–५ की गोमा रोकाले बताए। ‘हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो’, रोकाले भने, ‘आफैंले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।’

दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उनले बताए । ‘घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ’, उनले भने, ‘बजारमा पनि फापरको उच्च माग रहेको छ ।’ गाउँमा उत्पादन भएको फापर एक पाथीको रु दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima