Skip to content
Prabhu

दुई दशकदेखि बेपत्ता शमशेर कटुवाल घर फर्किए

मोरङ । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् ।
स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आस मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन्।
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट ६ सन्तान जन्मिए । ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले ६ सन्तान हुर्काएँ’, सीताले भनिन् । यसबीचमा परिवारको साथ नपाएपछि उहाँ माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छन् ।
शमशेरबहादुर बोल्न सक्नुहुन्न । उहाँ घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन  सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताए ।
बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । ‘कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ’, उनले भने ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal