काठमाडौं । भोलि शनिबार नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ को कार्यक्रम आयोजना गर्ने भएको छ । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु र निजी क्षेत्रको सहभागिता रहने उक्त कार्यक्रम काठमाडौंमा आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।
यस्तै कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिवहरु, नेपालस्थित विभिन्न देशका राजदूतहरु, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधिहरु तथा निजी क्षेत्रका संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहने छ ।
जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघले यसअघि पनि २०८० सालमा राष्ट्रिय बृहत् आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्