काठमाडौं । जेनजी आन्दोलनपछि पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। दसैँ–तिहारपछिको अनुकूल मौसमसँगै देशभरका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको बढेका हुन् । होटल व्यवसायीका अनुसार हाल देशभरका होटल, रिसोर्ट र होमस्टेहरू ८० प्रतिशतसम्म भरिएका छन्।
पोखरा, चितवन, लुम्बिनी, मुस्ताङ, बन्दिपुर, इलाम र काठमाडौं उपत्यकाजस्ता प्रमुख गन्तव्यमा आन्तरिक पर्यटकको आगमन दैनिक रूपमा बढ्दो रहेको होटल व्यवसायीको भनाइ छ । हाल विशेष गरी आन्तरिक पर्यटन उल्लेख्य रूपमा सुधार आएको होटल व्यवसायीहरू बताउँछन् । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार केही दिन अगािड पोखराको होटल बुकिङ ८०–९० प्रतिशत पुगेको छ । जसको कारण जेनजी आन्दोलनपछि पनि पर्यटन व्यवसायमा उत्साह जारी रहेको उनी बताउँछन् ।
जेनजी आन्दोलनको कारण विदेशबाट आउने पर्यटक भने अपेक्षा गरे जस्तो नभएको उनी बताउँछन् । तर, आन्तरिक पर्यटक भने उल्लेखित सुधार आएको उनी बताउँछन् । ‘केही दिन अगाडि नेपालका विभिन्न ठाउँका होटलमा बस्ने ठाउँ पाउन मुस्किल थियो ।’ होटल संघ नेपालका अध्यक्ष विनायक साह भन्छन्, ‘मुस्ताङ पोखरालगायतका क्षेत्रका होटेलमा बस्ने ठाउँ नभएर हामीलाई मिलाई दिन भन्दै फोन आउने गरेको छ ।’
बाह्य पर्यटन खासै अपेक्षा अनुसार नभित्रिएको भएता पनि स्वदेशै घुम्ने पर्यटकमा भने सुधार भएको साहको बुझाई छ । ‘केही दिन अगाडि म्याग्दी नगरपालिकाले होटल बुक नगरी नआउन भनेको थियो ।’ अध्यक्ष साह भन्छन्, ‘पर्यटक धेरै भित्रिएर व्यवस्थापनमा समस्या भएपछि देशका विभिन्न ठाउँमा बस्ने ठाउँ सुरक्षित गरेर मात्र आउन त्यहाँका व्यवसायीहरूले आग्रह नै गरेका छन् ।’
चितवनमा जंगल सफारी, नौका यात्रा र हात्ती सवारीमा सहभागी हुने पर्यटकको सङ्ख्या विगत वर्षको यही अवधिको तुलनामा बढेको त्यहाँका व्यवसायीहरू बताउँछन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार हाल विदेशबाट नेपाल आउने पर्यटनको सङ्ख्या गत वर्षभन्दा धेरै रहेको छ। तर, कोरोना महामारी अगाडी जस्तो पर्यटन अहिले पनि भित्रिन नकसेको जोशीको बुझाई छ ।
‘पर्यटन पुनरुत्थानको चरणमा प्रवेश गरेको छ। पछिल्ला वर्षमा कोरोना महामारीले पारेको असर अब क्रमशः घट्दै गएको छ ।’ जोशी भन्छन्, ‘तर, जेनजी आन्दोलनको कारण यसमा केही असर परेको छ । गत वर्षभन्दा बाहिरबाट आउने पर्यटकको सङ्ख्यामा सुधार भएता पनि हामीले राखेको लक्ष्यअनुसार भने पर्यटक आउन सकेका छैनन् ।’
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार युरोप, भारत र चीनबाट आउने विदेशी पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षभन्दा वृद्धि भएको छ। यसले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको छ। तर, नेपाल घुम्न आउन खोज्ने पर्यटकहरू अझै मनोवैज्ञानिक त्रास भने बाँकी नै छ ।
पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थी भन्छन्, ‘जेनजी आन्दोलनको कारण पर्यटन आगमनमा घट्ला भन्ने त्रास थियो । तर, त्यस्तो भएन । गत वर्षभन्दा पर्यटन आगमन बढेको छ । विदेशबाट विशेष गरेर नेपाल घुम्न आउने भनेको हिमाल चढ्नका लागि हो । यसमा कुनै कमी आएको छैन । यसबाट उनले रोयल्टी पनि बढेको छ ।’जेनजी आन्दोलनको कारण पर्यटन आगमन घट्ने प्रक्षेपण गरिएको भएता पनि यसले ठूलो असर नदेखाएको अवस्थी बताउँछन् ।
जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति होटल व्यवसायमा परेको कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन सरकारले राखेको लक्ष्यमा पुग्न नसकेको अवस्थीको बुझाई छ । होटल संघ नेपालका अध्यक्ष साहका अनुसार नेपालको होटलको क्षमता ३५ लाख बराबरको पर्यटन धान्न सक्ने छ ।
तर, क्षमता अनुसार पर्यटक नेपाल आउन नसकेको उनी बताउँछन् । पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक घुम्न आएका छन् । यसअघि गत मार्चमा १ लाख २१ हजार पर्यटक आएका थिए। त्यसपछि गत अप्रिलमा १ लाख १६ हजार पर्यटक घुम्न आएका थिए। जेनजी आन्दोलनका बाबजुत पनि विदेशी पर्यटक आगमनको कमी नभएको तथ्यांकले देखाएको छ।
भदौ २४ को घटनामा केही ठूला होटल जस्तै अन्तर्राष्ट्रिय चेन हिलटन, हायात होटल, वर्णवास लगायतका होटलहरु आगजनी र तोडफोडको सिकार भएपछि त्यसको सीधा असर पर्यटन क्षेत्रमा पर्छ भन्ने धेरैको डर थियो। यस्ता विध्वंशात्मक घटनाले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रचार हुने र नेपाल आउन चाहने पर्यटकले आफ्नो मन बदल्न सक्ने कतिपयको सम्भावना रहेको थियो । घटनालगत्तै कतिपय होटलको बुकिङ रद्द पनि भएका थिए ।
नेपालको होटल व्यवसायले अहिलेको अवस्थामै ३० लाख बढी पर्यटकलाई धान्न सक्ने क्षमता रहेको साह बताउँछन्। उनका अनुसार देशभर बनेका नयाँ ठुला र साना होटल, रिसोर्ट, लज र होमस्टेहरूको वृद्धिसँगै नेपालको आतिथ्य क्षेत्रले पछिल्ला वर्षमा पर्याप्त पूर्वाधार तयार भएको छ । तर, आगन्तुक संख्या अझै सो क्षमताको आधा पनि नपुगेको उनी बताउँछन् । अहिले नेपालको पर्यटन सिजनमा क्षमताभन्दा ६५ प्रतिशत ओकुपेन्सी हुने गरेको छ । ‘नेपालको होटल व्यवसायमा क्षमता प्रशस्त छ, अब आवश्यक कुरा भनेको सो क्षमता प्रयोग गर्न सक्ने स्तरमा पर्यटन प्रबर्द्धन, यातायात र नीति सुधार गर्नु हो,’ साह भन्छन् ।












प्रतिक्रिया दिनुहोस्