Skip to content

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ: अध्यक्ष ढकाल

nabil bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्याको समाधानमा ‘ट्रबलसुटर’को भूमिका निभाउँदै आएको बताए ।

शनिबार काठमाडौँमा भएको नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रसम्बन्धी सबै समस्याको समाधानका लागि निरन्तर प्रयास गर्दै आएको बताए।

उनले भने कि उद्योगको श्रम समस्या, डेडिकेटेड तथा ट्रंकलाइन विवाद, लगानी वातावरणका लागि कानुन संशोधन, आर्थिक सुधार सुझाव आयोगका सुझावहरू वा कालाबजारी ऐन संशोधनजस्ता विषयमा महासंघले राज्यसँग निरन्तर छलफल र संवाद गर्दै आएको छ।

ढकालले लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङलाई गरेको आग्रहलाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा पहल गरेकोप्रति धन्यवाद व्यक्त गर्दै यस्तो कदमले विवाद समाधानतर्फ अघि बढेको बताए।

उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी र विदेशी पुँजी आवश्यक रहेको उल्लेख गर्दै उनले मुलुकभित्र र बाहिर छरिएका साना–साना पुँजीलाई संकलन गरी ठूला र बहुआयामिक आयोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए।

यही उद्देश्यका साथ महासंघको नेतृत्वमा निजी क्षेत्रसँग आवद्ध विभिन्न संघ–संस्थाहरूको सहभागितामा १० अर्ब रुपैयाँ पुँजीसहित ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी उनले दिए। उक्त कम्पनीमार्फत ठूला तथा बहुआयामिक आयोजनामा लगानी गरी पूर्वाधार विकास, रोजगारी सृजना तथा उत्पादन र सेवा प्रवाह सहज बनाउन आफूहरू लागिरहेको उनले बताए।

ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्र र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताउँदै, त्यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।

उनले मुलुकको विकास र समृद्धि सबैको साझा उद्देश्य भएको उल्लेख गर्दै यसका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime