काठमाडौं । उद्यमी राजेन्द्र कुमार खेतानले लक्ष्मी बैंकको संस्थापक सेयरमा स्वामित्व बढाएका छन् ।
उनले बैंकको पूर्व ४ जना संस्थापक सेयरधनीको सेयर खरिद गरेका छन् ।
बैंकका ठूला सेयरधनी खेतानले चार जनाको करिब ६ प्रतिशत सेयर १ अर्ब ४० करोडमा किनेको लगानीन्यूजलाई बताए ।
उनका अनुसार खेतानले कैलाश चन्द्र गोयल र श्रवण कुमार गोयलको सेयर खरिद गरेका हुन् ।
यस्तै भोगेन्द्र कुमार गुरागाई र भुशन गुरागाईको स्वामित्वमा रहेको रहेको संस्थापक सेयर खरिद गरेका हुन् ।
‘मैले चार जना संस्थापक सेयरधनीले बिक्रीका लागि राखेको सेयर खरिद गरे’ उनले भने ‘सबै सेयरको हरहिसाब असार मसान्तमा सबै सकिसक्यो ।’
आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्मका बैंकमा राजेन्द्र कुमार खेतानको ५४ लाख ५५ हजार ९४५ कित्ता अर्थात २.३५ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा उनको मात्रै नभएर उनको परिवारका सदस्यको पनि हिस्सा राम्रै छ ।
बैंकका खेतानको परिवारका श्रीमति सारिका खेतानको ९६ लाख ६९ हजार २९८ कित्ता अर्थात ४.१७ प्रतिशत, स्नेहा खेतानको ९० लाख ५६ हजार ९०४ कित्ता अर्थात ३.९१ प्रतिशत र पुजा अग्रवाल खेतानको १९ लाख ८८ हजार ६१६ कित्ता अर्थात ०.८६ प्रतिशत सेयर स्वामित्व छ ।
तत्कालिन लक्ष्मी र सनराइज बैंक मर्जर भएर अहिले लक्ष्मी सनराइज बैंक बनेको छ । दुवै बैंक १ः१ अनुपातमा मर्जर भएका हुन् । मर्जर पछि २०८० असार २९ गतेबाट दुवै बैंकको एकीकृत कारोबार समेत सुरु भइसकेको छ ।
बैंक मर्जरमा जानु भन्दा अघि तत्कालिन सनराइज बैंकमा कैलाश चन्द्र गोयलको ४१ करोड २७ लाख ४५ हजार ४०० रुपैयाँको सेयर थियो । यस्तै श्रवण कुमार गोयलको ३४ करोड ८४ लाख २३ हजार ५०० रुपैयाँको सेयर स्वामित्व थियो ।
यस्तै बैंकमा भोगेन्द्र कुमार गुरागाईको ११ करोड ३४ लाख ४७ हजार ८०० रुपैयाँ, भुशन गुरागाईको ८ करोड ६८ लाख ६३ हजार २०० रुपैयाँ सेयर स्वामित्व थियो ।
बैंक मर्जर भएपछि सेयर स्वामित्व पनि घटेको छ ।
गत आवको असार मसान्तसम्म बैंकमा श्रवण कुमार गोयलको ३२ लाख ९१ हजार १२ कित्ता अर्थात १.४२ प्रतिशत सेयर स्वामित्व रहेको थियो ।
यस्तै कैलाश चन्द्र गोयलको २३ लाख ८ हजार ९३१ कित्ता अर्थात १ प्रतिशत सेयर स्वामित्व रहेको थियो । यस्तै भोगेन्द्र कुमार गुरागाईको १२ लाख १३ हजार ८९३ कित्ता अर्थात ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको थियो ।
बैंकमा भुशण गुरागाईको भने ०.५० प्रतिशत भन्दा कम सेयर स्वामित्व रहेको छ । त्यो सेयर पनि सबै आफुले खरिद गरेको खेतानले बताए ।
खेतानले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेमा उनी सहित कम्पनीबाट २० प्रतिशत स्वामित्व लिने सम्झौता गरेका छन् । राष्ट्र बैंकबाट सहमति आएपछि फोनपेको सेयर स्वामित्व समेत उनको र उनका कम्पनीको नाममा आउने छ ।






प्रतिक्रिया दिनुहोस्