हङकङ । पेसाले शिक्षक अनु राई हङकङ आएको डेढ दशकभन्दा बढी भयो । यहाँ पनि उनी सुरुआतदेखि नै नेपालमा जस्तै शिक्षण पेसामै सक्रिय छिन् । विद्यालयका बालबालिकालाई पढाएर बचेको समयमा नेपालीहरू आबद्ध संस्थामार्फत सामाजिक सेवामा क्रियाशील भइहाल्छिन् ।
सुरुआती दिनमा प्राथमिक विद्यालयमा अध्यापन गराउने उनी अहिले मावि तहका बालबालिकालाई पढाइरहेकी छन् । “म पहिलो पटक सन्२००९ मा हङकङ आएकी थिएँ, त्यसपछिका केही समय आउने जाने क्रम चलिरह्यो, के काम गर्ने ? कसरी गर्ने भन्ने हुन्थ्यो, तर सन् २०१२ मा यहीँकोविद्यालयमा पढाउने काम पाएपछि यतै बसे”, मङ्गलवार सम्पन्न गैर आवासीय नेपाली सङ्घ, हङकङ अध्यक्षमा निर्विरोध निर्वाचित अध्यक्ष राईले भनिन्।
राई हङकङमा आएको समयमा नेपालीहरूका विभिन्न सङ्घसंस्था सक्रिय थिए । उनीहरूले आफ्नै उद्देश्यअनुरूप काम गरिरहेकै थिए । तर महिला केन्द्रित कुनै सङ्घसंस्था थिएनन् । त्यसैले राईलगायतको अग्रसरतामा सन् २०१३ मा हङकङमा महिला सङ्घ स्थापना भयो । त्यसमा टीका गुरुङलगायतले प्रमुख भूमिका खेले । राईले सङ्घमा सह–कोषाध्यक्षको जिम्मेवारी पाइन् ।
महिला सङ्घ स्थापना भएपछि राईको सामाजिक सेवामा सक्रियता बढ्न थाल्यो । सङ्घमा विभिन्न क्षेत्रमा काम गर्ने करिब ८० जना आबद्ध भएका थिए, त्यो बेला । उल्लेख्य सङ्ख्यामा महिलाको आबद्धताले सङ्घले गति लिने अवसर पायो । हाल उनी सङ्घमा महासचिव छिन् ।
सङ्घले तत्कालीन समयमा हङकङका महिलाका लागि कैयौँ उल्लेख्य काम गर्यो । पाठेघर र ब्रेष्ट क्यान्सरका क्षेत्रमा प्रभावकारी रुपमासचेतनामुलक कार्यक्रम सफल भए । “तत्कालीन समयमा सङ्घले महिलाका लागि क्याबिन क्रु कार्यक्रम सञ्चालन गरेको थियो, बालबालिका र सुस्तमनस्थिती भएका बच्चालाई लक्षित गरी पनि काम भए”, उनले भनिन् ।

तत्कालीन समयमा पुरुषहरूले महिला सङ्घ नै चाहिन्न भन्ने अवस्था पनि आएको थियो । आबद्ध भएका महिलाहरूले छाड्ने क्रममा पनि बढ्यो । कुनै समय यस्तो पनि आयो, जति बेला सङ्घमा टीका र अनु मात्रै रहने अवस्था पनि आयो । तर, राई र टीकाले हरेस खाएनन् । सङ्घलाई पुरानैअवस्थामा ल्याएरै छाडे ।
“तत्कालीन समयमा टीका गुरुङ दिदी एनआरएनएमा पनि आबद्ध हुनुहुन्थ्यो, सङ्घमा सँगै काम गरेकी मलाई एनआरएनएमा ल्याउन उहाँकै भूमिका छ”, राईले भनिन् । टीका गुरुङ एनआरएनए हङकङको महिलाका रूपमा पहिलो अध्यक्ष हुन् भने राई दोस्रो महिला अध्यक्ष हुन् । अहिले टीका गुरुङ एनआरएनए आइसिसी महिला सचिव तथा महिला सङ्घको अध्यक्षका रूपमा क्रियाशील छिन् ।
टीका गुरुङकै सल्लाहमा सन् २०१७ मा राई एनआरएनए हङकङमा आबद्ध भइन् । “तत्कालीन समयमा टीका दिदी नै आउनुपर्छ भन्दै हौसालादिनुहुन्थ्यो, म एनआरएनएमा आएपछि निर्वाचनमार्फत महिला संयोजक भएँ, त्यसपछि मात्रै हो मैले यसबारे राम्रोसँग बुझेको”, राईले सुनाइन् ।
एनआरएनए भएका कैयौँ देशमा अहिले पनि महिला समिति नै नभएको अवस्था छ । राई संयोजक भएपछि तत्कालीन समयमा केही देशमामहिला समिति गठनका लागि अभियान नै सञ्चालन भयो । काम गर्दै जाँदा राईले महिला संयोजकको जिम्मेवारी दोस्रो कार्यकालमा पनि प्राप्त गरिन् ।उनको कार्यकालमा मकाउ, चीन, हङकङका कमिटी मिलेर नेपालमा स्वास्थ्य शिविर आयोजना भयो । पाठेघरसम्बन्धी रोग लागेकालाई निःशुल्क औषधि वितरण भयो । बालबालिका तथा आँखासम्बन्धी पनि अभियान सञ्चालन भयो । यसबाट धेरै नेपालीले लाभ लिएको राईको भनाइ छ । दुई वटा कार्यकालमा महिला संयोजक भएपछि राईले महिला उपाध्यक्षको जिम्मेवारी पाइन् । उपाध्यक्षका रूपमा पनि उनले दुई वटा कार्यकाल पूरा गरिन्। विभिन्न जिम्मेवारीहरू पूरा गर्दै यति बेला भने उनी अध्यक्षको जिम्मेवारी पाएकी छन् ।
अध्यक्षका रूपमा हङकङमा भएका रोजगारीका राम्रा क्षेत्रको पहिचान गर्ने, त्यहाँ रोजगारीका लागि समन्वय गर्ने भूमिकामा आफूले अब्बल बनाउनेराईको योजना छ । त्यसबाहेक यहाँ रहेका दोस्रो पुस्ताका नेपालीलाई नेपाली कला, परम्परा र संस्कृतिसँग अभ्यस्त गराउने जिम्मेवारी पनि आफूलेसक्रियताका साथ पूरा गर्ने उनको भनाइ छ ।

“यस विषयमा एनआरएनको तर्फबाट विगतमा पनि धेरै काम भएका छन्, युवा संयोजक टीकाराम जीले पनि जिम्मेवारीका साथ काम गरिरहनुभएको छ,हङकङ आउने युवालाई सम्मानजनक काम गर्न लगाउने, सरकारी तथा गैरसरकारी निकायमा समन्वय गर्ने काम पनि भइरहेको छ”, उनले भनिन् ।
राईको बुझाइमा हङकङमा जन्मने धेरै नेपालीका बालबालिकामा भाषाको समस्या ठुलो छ । उनीहरूलाई नेपाली भाषासँग जोड्नका लागि एनआरएनएले काम गरिरहेको उनको भनाइ छ । सकेसम्म घरभित्र नेपाली नै बोल्ने अभ्यास पनि चलनमा आएको छ । आफ्नो कार्यकालमा पनि नेपाली भाषाका क्षेत्रमा काम गर्ने र यसको प्रवर्द्धनमा आफूले प्राथमिकताका लाग्ने राईको अठोट छ ।






प्रतिक्रिया दिनुहोस्