Skip to content
Prabhu

यती एअरलाइन्सले थप्यो दुईवटा विमान

काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तारका क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । ती विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बङ्गलादेशबाट खरिद गरी ल्याइएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन– एओएफ र ९एन–एओएच  पाएको छ । 

खरिद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने नीति लिएको  र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिने बताए ।

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले भने, “आन्तरिक हवाईसेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने नीति लिएको र जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।”

सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजारहिस्सा कायम गदै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ । 

एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । 

पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकाले उडानका क्रममा आरामदायी हुनेछ । 

यती एअरलाइन्स हालसालै एशियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लासग आइपिओ जारी गर्ने लक्ष्य लिएको छ । 

हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौँ, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर्ड र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal