Skip to content

सौर्य ऊर्जाबाट आठ लाख युनिट विद्युत् उत्पादन

nabil
global ime

झापा ।  झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो । 

कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनका  अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।

हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताए  । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का  सांसद एलपी साँवाले बताए । 

परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट रू ७.३० कायम गरिएको छ । 

मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । 

नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल छ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए  । उनले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए । । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima