काठमाडौँ । झापामा अस्पताल सञ्चालन गर्ने दुर्गा प्रसाईँले केही साता अगाडि ‘देश कंगाल पार्ने तस्करहरु’ भन्दै देशका प्रतिष्ठित उद्योगी व्यवसायीलाई मानमर्दन गर्ने गरी सार्वजनिक कार्यक्रम गरे । विभिन्न व्यक्तिका तस्बिर प्रयोग गरी उनीहरुलाई अपराधीको शैलीमा देश बिगार्ने तत्वहरु यिनै हुन् भन्दै भिडियो नै बनाए ।
बैंकको ऋण तिर्न पर्दैन भन्दै अभियान चलाएका उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीदेखि मुलुकका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको चरित्र हत्या गर्ने गरी भिडियो बनाएरै सार्वजनिक गरे ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका ती भिडियोलाई प्राप्त कमेन्टहरु व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने खालका छन् । तर भिडियो बनाउने र सार्वजनिक गर्नेहरुविरुद्ध कोही चुइक्क समेत बोलेको पाइँदैन ।
यी तिनै व्यक्ति हुन् जसले बैंकबाट अर्बौ रुपैयाँ ऋण लिएका छन् । उनै प्रसाईँले एनआईसी एशिया बैंक डुब्दै छ भन्ने गलत हल्ला सामाजिक सञ्जालमा फैलाए । जसलाई उनका समर्थक वा अराजकता मन पराउनेहरुले भाइरल नै बनाए । सामाजिक सञ्जालमा पनि बैंकको ऋण तिर्नु पर्दैन भन्ने मानसिकता हावी भएको देखिन्छ ।
तर, यसरी भ्रम फैलाउनेहरुले बैंकमा राखेको पैसा सरकार वा कुनै उद्योगीको मात्रै नभइ सर्वसाधारणको निक्षेप भएको बुझ्दैनन । यदि यस्तै भ्रमका कारण बैंक डुब्यो भने यसले सबैभन्दा पहिले हजार र लाख रुपैयाँ हुनेहरुलाई सबैभन्दा गाह्रो हुन्छ भन्ने अधिकांशले बुझ्न नचाहेको देखिन्छ । प्रसाईँले लिएको अर्बौ ऋण सर्वसाधारणको पैसा हो भन्ने धेरैलाई बुझाउन नसकेको देखिन्छ ।
विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुःख दिने, कालोमोसो दल्नेलगायतका अभिव्यक्ति दिँदै आएका प्रसाईँका गतिविधिमाथि सरकारले रहस्यमय मौनता साँधेको प्रष्टै छ ।
लामो समयदेखि व्यवसाय गरेका लगानीकर्ताहरु देशभित्र निकै उकुसमुकुसको अवस्थामा छन् । व्यवसायीको कुरा सुन्दा उनीहरुको मानसिकता माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा भएजस्तो भयको वातावरण बाचेको स्थितिमा देखिन्छ । सशस्त्र द्वन्द्वको नेतृत्व नै अहिले सरकारको नेतृत्व गरेको छ ।
“दश वर्षको सशस्त्र द्वन्द्वमा नभएको डर अहिले महशुस भएको छ”, कुराकानीका क्रममा एक व्यवसायीले भने, “एकातिर सरकारले कतिबेला के गर्छ भन्ने टुंगो छैन, अर्कोतिर दुर्गा प्रसाईँजस्ता व्यक्तिले फैलाएको अराजकतामा सामाजिक जीवन नै ड्यामेज हुने खतरा बढेको छ ।”
तत्कालिन समयमा नेकपा एमाले र माओवादी एकीकृत भएर नेकपा बनेको बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईँ अदालतको निर्णयबाट एमाले र माओवादी फरक पार्टी भएपछि एमालेमा लागेर केन्द्रीय सदस्य बनेका थिए । केही समय एमालेमार्फत राजनीति गरेका उनी अहिले एमाले छाडेर राजा फर्काउने आन्दोलनमा लागेका छन् । प्रसाईँ अहिले सार्वजनिक कार्यक्रममा ओलीलाई गाली गर्छन् तर प्रचण्डलाई गाली गर्दैनन् । जबकी एमालेमा हुँदा ओलीलाई हजुरबुवा भन्दै प्रचण्डलाई गाली गर्ने गरेका थिए ।
“एउटा व्यक्तिले सनकका भरमा व्यवसायीलाई तथानाम गाली गर्छ । बैंक डुब्दै छ भनेर सामाजिक सञ्जालम भ्रम फैलाउँछ । तर सरकारले केही गर्दैन”, एक व्यवसायीले गुनासो पोखे ।
सरकारले आगामी बैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । यसका लागि नेपालमा लगानी गर्न आउन विश्वमा ठूला लगानीकर्तालाई निम्ता दिइएको छ । तर, नेपालमा लगानी गरेका लगानीकर्तालाई तर्साउने काम भइरहेको छ । यतिसम्म कि विभिन्न मुद्दामा जेल समेत हाल्ने काम सरकारको भएको बुझाइ व्यवसायीको छ ।
“सरकारको नीति व्यवसायी र लगानीकर्तालाई संरक्षण गर्नेभन्दा केहीलाई समात्ने, नभए अराजकतालाई साथ लिएर मानमर्दन गर्ने खालको भयो”, एक व्यवसायीले भने । पछिल्लो समय धरान, नेपालगञ्ज, वीरगञ्ज तथा रौतहटमा भइरहेका धार्मिक द्वेष फैलाउने खालका घटनाले पनि मुलुकको सामाजिक सद्भाव बिग्रने र यसले हिंसातर्फ अग्रसर बनाउने हो कि भन्ने चिन्ता पनि थपिएको छ । यस्तो अवस्थामा अर्थतन्त्र थप कमजोर हुने हो कि भन्ने व्यवासायीहरु चिन्ता व्यक्त गर्छन् ।
“प्रधानमन्त्रीको निर्देशनमा उद्योगमा एकाएक विजुली काट्ने निर्देशन हुन्छ । दुर्गा प्रसाईँले आफ्ना युटुवर फेला पारेर अपराधी बनाउने काम गर्छन्”, ती व्यसायीले भने, “पैसा तिनुपर्ने भए पनि प्रमाण देखाएपछि व्यवसायीले तिर्ने होला । तर सामाजिक सञ्जालमा अर्काको इज्जत प्रतिष्ठामा नै धब्बा गराउने काम सरकारको निर्देशनमा भएको जस्तो देखियो ।”
एकातिर व्यवसाय निकै घटेको छ । आयातमा आधारित भएर उपभोगमा चल्ने अर्थतन्त्र कमजोर बन्दै गएको सरकारको तथ्यांकमा देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले होटल बाहेक अन्य क्षेत्रको व्यवसाय नबढेको देखियो ।
तथ्यांकमा विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ । यसैलाई सरकारले उपलब्धी मानेको छ । तर यो आयात कम हुँदा बढेको हो । विदेशी मुद्रा सञ्चिति निर्यात बढेर भएको होइन । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढेसँगै ब्याजदर घट्दो क्रममा छ । तर, बजारमा बिक्री छैन । बिक्री नभएपछि व्यवसायका अन्य गतिविधि कमजोर छन् । यही बेला मनोबल बढाउनुपर्ने सरकारको नीति भने उल्टो भएको महशुस व्यवसायीहरुले गरिरहेका छन् ।
“यतीका वर्षसम्म नेपालमा व्यवसाय गरेर बसेका स्थापित व्यवसायीलाई भिलेनका रुपमा प्रस्तुत गरियो”, ६० वर्ष कटेका व्यवसायीले सुनाए, “पढ्न गएका नातीहरु प्रश्न गर्छन् इज्जत नै नहुने नेपालमा किन व्यवसाय गर्न आउने ?”
अहिले बजारमा चरम निराशाको अवस्था छ । सरकारसँग पैसा छैन । जसले गर्दा सरकारले ब्याज अनुदान, बीमाको अनुदानदेखि लिएर सरकारी उद्योगले दिने भुक्तानी समेत रोकिएको छ । निर्माण व्यवसायीको भुक्तानी सरकारले दिएको छैन । जसले बजारमा अर्थतन्त्र चलायमान भएका छैन । निजी क्षेत्र र व्यवसायीलाई तर्साएर लगानी बढ्ने भन्दा पनि पलायन हुने खतरा बढी देखिने व्यवसायीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्