Skip to content
Prabhu

‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । 

‘लिगल्ली गएको भए हुन्थ्यो । इल्लिगल्ली गएका छन् । जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ’, परराष्ट्रमन्त्रीले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ’, ‘उनीहरुलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु ।’ उनले रुसी सेनामा भर्ना भएका परिवारका सदस्यलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । 

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए । ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ’, उनले भने ।

परराष्ट्रमन्त्रीले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवेदन दिएको जानकारी दिए । उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन सम्बन्धित नागरिकका परिवारलाई आग्रह गरे । परिवारका सदस्यले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने मन्त्री साउदले बताए । 

रुसी सेनामा भर्ना भएका नागरिकको सङ्ख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढङ्गले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो । परराष्ट्रमन्त्रीले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । उनले भारत रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए ।

मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय सवालमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किन दिने विषयमा रुसी सरकारसँग कुरा भएको जानकारी दिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal