Skip to content
Prabhu

वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

तमोर नदी र त्यसका सहायक खोलानालाहरूमा निर्माण भएका/हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । 

प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन् । वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा वे विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा बेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि  मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रोपावरले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए ।

‘वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिनेछ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरू भइरहेको जानकारी पाएका छौं,’ घिसिङले भने, ‘आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा वे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरू भइरहेका छन्, मध्य तमोरले विद्युत्उत्पादन सुरु गर्ने बेलासम्ममा वसन्तपुर सबस्टेसनमा वे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ ।’

प्रसारण लाइन र सबस्टेसन तयार भए पनि जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनु पर्ने स्थिति अहिले छ । मध्य तमोरलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको दाबी छ ।

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र ढुंगेसाँघुमा १३२÷३३ केभी सबस्टेसन निर्माणका लागि केईसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो ।

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा वे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । वे विस्तार कार्य जारी छ ।

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

कोशी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत संखुवासभाको तुम्लिङटारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर इंगल सर्किट स्ट्रिंगिङ लाइन सञ्चालनमा ल्याइएको छ ।

प्याकेज–२ अन्तर्गत सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङटार र ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal