Skip to content

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताए । 

‘जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुङबुक गुफा सुनसान छ,’ उनले भने, ‘मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुङबुक गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।’ गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ । 

गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुङबुक गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ ।  फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दुःख कलात्मक आकृति देखेर भुलाउँछ । 

गुफाभित्रै पकाएर खान सकिने भाँडाकँुडा पनि छन् । औंसी र पूर्णिमाका दिन लुङबुक गुफा दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन् । फल्याक गाउँदेखि लुङबुक गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पुर्याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताए । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उनले बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal