Skip to content

महिला समूहले खोल्यो दुनाटपरी उद्योग

बागलुङ । बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । 

साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ । 

 तीन लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कुसुम बुढाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। 

उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए । उनले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गरे । 

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी  रेष्टुराँमा प्रयोगमा आउन थालेको छ । २८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बङ्गुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहका अध्यक्ष बलकुमारी पुनले जानकारी दिए । 

काठमाडौंदेखि दुनाटपरी बनाउने एक लाख ९२ हजार रुपैयाँको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उनको भनाइ छ । 

‘झन्डै रु २२ लाखको लगानीमा खोलिएको बङ्गुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बङ्गुरपालन व्यवसाय धराशयी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ, विशेषगरी सालको पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ,’ पुनले भने, ‘बागलुङमा पोखरा र बुटबलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रुपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्नेछ ।’

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । उद्यमशील मगर महिला समूहले १५ लाख रुपैयाँसङ्घीय सरकारको अनुदान र महिला समूहको सात लाख रुपैयाँ लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो । गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बङ्गुर फार्ममा रहेका छ सय बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो । 

बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।  

दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ । दुनाटपरीलाई रु दुईदेखि  आठ रुपैयाँसम्ममा बजारमा बिक्री गर्न सकिनेछ । बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal