Skip to content

च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै बाठामगर

घोराही ।  रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उनले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनले लगानी बढाउँदै लगेका छन् । 

अहिले उहाँले वार्षिकरुपमा  १५ लाख रुपैयाँ बराबरको च्याउको कारोबार गर्दै आएको छ । यसबाट  तीन लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । “२०७२ सालबाट च्याउ खेती सुरु गरेको थिए । अहिले आठ वर्ष भयो । म निरन्तर रुपमा च्याउ उत्पादन गर्दै आएको छु’, उनले भने, ‘यो अवधिमा राम्रो आम्दानी भएको छ ।’ पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । ३९ वर्षीय बाठामगरले देश बाहिर समेत गएर च्याउ खेतीको बारेमा अवलोकन र अध्ययन गरेर आएको छ । उनको च्याउ फार्ममा स्थानीय १२ कामदारले समेत रोजगार पाएका छन् । 

दैनिक करिब ४०/५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने बाठामगरले उत्पादन भएको च्याउ जिल्लाको घोराही, तुलसीपुरसँगै जिल्ला बाहिर प्युठान, बुटवल, कोहलपुर, सुर्खेतलगायतका ठाउँमा समेत पठाउने गरेको बताए । उनले खुद्रामा २०० रुपैयाँ केजीका दरले बिक्री गर्दै आएको छ । सुगर, प्रेसरलगायतका बिरामीले समेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ । 

‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उनले भने, ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा खपत बढेको छ ।’ बाठामगरले दुई बिघा जग्गा भाडामा लिएर विगत लामो समयदेखि व्यवसाय गर्दै आएको बताए । उनका अनुसार च्याउ भदौ महिनादेखि चैतसम्म राम्रो आम्दानी लिन सकिने बताए । उनले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आएका छन् । 

मेहनत गर्न सकियो भने आम्दानी पनि सोचेअनुसारको प्राप्त गर्दै जाने उनको अनुभव रहेको छ । आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पुर्याउनका लागि सरकारीस्तरबाट पनि च्याउको महत्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेरमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताए । 

आफ्नै देशमा कुषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी गरिदिन स्थानीय सरकारलाई उनले आग्रह गरेका छन् । अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ बिचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उनको अनुभव रहेको छ । आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान बाढामगरको भनाइ रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal