Skip to content

चन्द्रागिरिका चार वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन्  ।  बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।   

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अनुसार बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।  

चन्द्रागिरि –५ किसिपिडिलाई बुधबार आयोजित कार्यक्रममा बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिकामध्ये चार जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए ।  सो अवसरमा नगर प्रमुख घनश्याम गिरीले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिए ।

उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छ । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौं नम्बरमा चन्द्रागिरि आउने छ । अहिलेसम्म छ  स्थानीय तह बालश्रम मुक्त भइसकेको छन् । 

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal