Skip to content

पाथीभरामा फागुन महिनामा मात्र ५५ लाख रुपैयाँ भेटी संकलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको रु ५५ लाख भेटी संकलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८ सय ८०  रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । 

 

फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

 

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्याङ्कसमेत समितिले सार्वजनिक गरेको छ । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

 

यसैबीच पाथीभरामा सङ्कलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal