Skip to content

अध्यक्ष सिलवालद्वारा बजारको अध्ययन गरी नयाँ बिमालेख ल्याउन बिमा कम्पनीलाई निर्देशन

 

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बिमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बिमा प्राधिकरणद्वारा वीरगञ्जमा आयोजित बिमासम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

बजारको अध्ययन अनुसन्धान गरी नयाँ बिमालेख ल्याउन बिमा कम्पनीहरूलाई अध्यक्ष सिलवालले निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न प्याकेजमा कभर हुने गरी सम्पत्ति बिमा निर्देशिका जारी गरिएको छ, यसमा केही कमी कमजोरी देखिएमा सुधार गर्न सकिन्छ, बिमा कम्पनीले पुनर्बिमा गर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ ।’

बिमा दाबी भुक्तानीमा कही कतै समस्या भए पनि बीमा कम्पनीहरूले ७५ प्रतिशतभन्दा बढी दाबी भुक्तानी गरेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘केही बिमितले समयमै आवश्यक कागजात तथा प्रमाण नपुर्याएकाले वा कही सर्भेयरबाट प्रतिवेदन दिन ढिला हुनाले दाबी भुक्तानीमा ढिलाई भएको हुनसक्छ, दाबी भुक्तानी छिटो गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको बताए ।’ निर्देशनलाई अटेर गरी दाबी भुक्तानी नगरेमा त्यस्ता कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबही गर्न प्राधिकरण पछि नहट्ने बताए ।’

बिमाको पहुँच बढाउनका लागि बिमासम्बन्धी जनचेतना अभिवृद्धिमा प्राधिकरणले जोड दिँदै आएको र त्यस क्रममा हालसम्म तीन सयभन्दा बढी स्थानीय तहमा बिमा सचेतना कार्यक्रम आयोजना गरिसकिएको अध्यक्ष सिलवालले बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक शिथिलताको हालको अवस्थामा उद्योग व्यवसायीहरूलाई बीमाशुल्कमा छूट दिने व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले सम्पत्ति बिमा निर्देशिका परिमार्जन गरी जोखिम नदेखिएको अवस्थामा बीमाशुल्क तिर्नु नपर्ने व्यवस्था गर्न, न्यून बीमाको पहुँच रहेको मधेश प्रदेशमा बिमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, कोरोना बीमाको बाँकी दावी भुक्तानी छिट्टै पाउने व्यवस्था गर्न र बीमा दावी भुक्तानीलाई सरल एवं सहज बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बिमा क्षेत्रको विद्यमान अवस्था, उद्योग व्यवसायमा बिमाको महत्व र बिमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुति गरेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी व्यवसायी र बिमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू लगायतको सहभागिता थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal