Skip to content

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।  गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । 

गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिए । ‘सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ’, उनले भने, ‘साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ ।’ सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ ।  

गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल नजिकै सडक पुगेको हो । झोलुङ्गे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाएका छन् । 

४२ लाख ६७ हजार २ सय ३९ रुपैयाँको लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव रामबहादुर बानियाँले बताए । ‘सो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट  ४० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो’, उनले भने, ‘उपभोक्ताको तर्फबाट  चार लाख २७ हजार २ सय ३९ रुपैयाँ बराबरको लागत साझेदारी भएको छ ।’

विस २०८१ जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत पुष २५ गते सम्झौता भएको थियो । उपभोक्ता समितिको सक्रीयताका कारण लक्ष्यभन्दा तीन महिनाअघिनै योजना निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । 

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित छ । साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजा र दर्शन गर्न सकिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal