Skip to content

अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउने होः अर्थमन्त्री पुन

 काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् ।  मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताएका हुन् ।

 अर्थमन्त्री पुनले भने सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकाङ्क्षा र संविधानले दिशानिर्देश गरे अनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको बताए । पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए । 

राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एक अर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गरे । ‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धी जस्तो बनाउने गरिएको छ’, पुनले भने, ‘यो कसरी हुन सक्छ ? हामी एकअर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरूको गल्ती औँल्याउने होइन । यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ त्यहाँ मिलेर काम गर्ने हो ।’ 

 अर्थमन्त्री पुनले राष्ट्र बैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात् बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गभर्नरलाई आरोपित गर्न नमिल्ने स्पष्ट गरे । सरकारका तर्फबाट राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव र तीन जना विज्ञलाई सञ्चालकका रूपमा पठाउने व्यवस्था छ । यस्तै गभर्नर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन् । बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु रहेको उनको टिप्पणी थियो । 

राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु हुने पनि मन्त्री पुनले स्पष्ट गरे । ‘लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो । प्रतिस्पर्धीबीच पनि संवाद हुन्छ । हामी त प्रतिस्पर्धी होइनौ नि ?’, उनले भने । 

ठूलठूला युद्धमा रहेका मुलुकका बिचमा समेत युद्ध रोक्न वार्ता हुने गरेको चर्चा गर्दै पुनले मुलुकको हितमा काम गर्ने उद्देश्यले अर्थमन्त्री र गभर्नरका बिचमा समस्या आए तत्काल संवादमार्फत समाधान खोज्न सकिने बताए । 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal