Skip to content

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका छन् ।

बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौं नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

‘आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘सुस्त कर्जा प्रवाह, मध्यमवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।’ 

वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे ।

सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्रीले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए । 

‘रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,’ प्रधानमन्त्रीले भने, ‘पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तीमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।’ उनले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए । 

अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्रीले थालेका ती काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण गरिएको बताए । ‘गत वर्ष महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘तर मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनःगठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal