Skip to content

कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन

गलकोट । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ । 

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो । 

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद  १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट  ५४ हजार नौ सय रुपैयाँ , बोकाबाट  एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट  सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा  तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय आर्थिक सहयोग  तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ , परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ , व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट  १२ हजार दुई सय रुपैयाँ सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए । 

यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब  तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा ६७ हजार रुपैयाँ खर्च भएको छ । 

साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोशाक तथा छपाइमा  २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ । 

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैं मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए। 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal