Skip to content

अर्थमन्त्री पुनले भने– पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्नुस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रममा पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । 

पुनले लगानी कोषले दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माण, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी–कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न उनले सुझाव दिए ।

अर्थमन्त्रीले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती रहेको बताए । आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने उनले उल्लेख गरे ।अर्थमन्त्री पुनले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको उनले औँल्याए । प्रशासन संयन्त्रको शुद्धीकरणबिना देशको आवश्यकता पूरा गर्न नसकिने उनले उल्लेख गरे ।

‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धीकरण जरुरी छ, हामी आफैँले ठानेका छौँ । आमजनसमुदायले ठानेको छ,’ उनले भने, ‘हाम्रो प्रशासन संयन्त्रमा शुद्धीकरण जरुरी छ । आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कैयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal