Skip to content

सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास

खोटाङ । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् । 

गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन् । उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास  गरेका थिए ।

आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन् । ‘आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ । आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ । जङ्गलमा पाइने पत्कर, सुकेका झाडीलगायत ज्वलनशील वस्तु फ्युल हुन् । त्यसलाई हटाएर अग्निरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ’, उनले भने । वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै यदि त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी उनले दिए । 

हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिए । ‘खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु गरेका छौं’, उनले भने, ‘आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ । अभियानका क्रममा विशेषगरी स्थानीय बासिन्दालाई लक्षित गरेर चेनामूलक कार्यक्रम सञ्चालन गर्छौं ।’

अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

यसैबीच १० स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनमा  डढेलो सल्केको छ । हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलो गाउँवस्तीमा सल्किदा दुई घर जलेका प्रहरीले जनाएको छ । चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमाया राईको घर पूर्णरूपमा क्षति भएको जनाइएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामीरेस्थित सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुँयाल, युवराज राई र बुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ । डढेलोले बुद्धिनाथका ६० वटा बाख्रासमेत मरेका छन् । जिल्लामा भएका आगलागीका घटनाबाट अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका  प्रमुख खड्काले राससलाई जानकारी दिए। 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal