Skip to content

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

घोराही ।  दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९  भैँसी पाल्नुभएको छ । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् । 

यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले  प्रतिलिटर दूध ७० देखि  ७५ रुपैयाँसम्ममा बिक्री गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए।

‘खर्च धेरै छ, आम्दानी न्यून हुन्छ’, यादवले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याइ हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । ‘दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ’, उनले भने, ‘निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।’ दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताए । 

यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर  ४५ देखि  ६० रुपैयाँसम्ममा बिक्री गर्दैआएका छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्छन् । ‘दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ’, यादवले भने । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने  उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । उनले ९० रुपैयाँमा दूध स्थानीय डेरीलाई बिक्री गर्दैआएका छन् । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘प्रतिलिटर ७० रुपैयाँभन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन’, खनालले भने । उनीसँग  ७० रुपैयाँमा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई  एक सय रुपैयाँ मा बिक्री गर्ने गरेका छन् । 

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ ।  स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन्  । ‘स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ’, खनालले भने। उनको फार्ममा हाल २८ गाई भैँसी छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal