Skip to content

निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

मन्थली ।  जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार  सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए। 

शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको इसिजी र एक सय १८ जनाको  मुटु परीक्षण गरिएको  जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ । 

 

शिविरको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइरालाले गर्नुभएको थियो । उद्घाटनका क्रममा उहाँले यस्ता शिविरले धेरै नागरिकलाई फाइदा पुग्ने भएकाले देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal