Skip to content

इलामको पाथीभरामा ८ महिनामा १ करोड बढी भेटी संकलन

फिक्कल । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा  एक करोड चार लाख ५९ हजार एक सय ६४ रुपैयाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । 

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन हुने गरेको छ । 

समितिका अनुसार साउनमा  चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार रुपैयाँ बराबरको जिन्सी, भदौमा  सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय रुपैयाँ बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय रुपैयाँ बराबरको जिन्सी तथा कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको छ । 

त्यसैगरी, मङ्सिरमा १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय रुपैयाँ बराबरको जिन्सी, पुसमा  १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय रुपैयाँ बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय रुपैयाँ बराबरको जिन्सी तथा फागुनमा १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको छ । 

पाथीभरा मन्दिरमा सङ्कलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘भक्तजनको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,’ अध्यक्ष स्याङ्बोले रासससँग भने, ‘हामी सधैँ पारदर्शिता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।’  

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

गत वर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार तीन सय ६२ रुपैयाँ भेटी सङ्कलन भएको थियो । सो अवधिमा  ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal