Skip to content

नारायणगढ–मुग्लिन सडकखण्डमा थप तीन पुल

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उनले भने, ‘आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।’

हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उनका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् ।

काली र नाम्ची दुईवटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए ।

 

 उनका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डमा कुल १९ पुल छन् । तीमध्ये चार वटा पहिले नै निर्माण भएका थिए । 

यस सडकखण्डमा विसं २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो । सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का  रुपमा यो सडकलाई लिने गरिन्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal