Skip to content

सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा छः मन्त्री शर्मा

स्वर्गद्वारी । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन् ।  

झिमरुक गाउँपालिकामा आजदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्याउने नीतिअनुसार काम भइरहेको बताइन् । उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिइन् । 

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताइन् । शर्माले भनिन्, ‘इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र  टेलिकमको आम्दानी बृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।”

मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उनको तर्क छ । 

सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्यूठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा  नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताए । 

उनका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्बे भइसकेको र गौमुखीमा सर्बेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाईबर नेट उपलब्ध गराएको छ । त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्यूठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ । 

त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उपप्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरन्जन श्रेष्ठलगायतको उपस्थिति थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal