Skip to content

‘विशेष परिस्थिति घोषणा गरेर सडक दुर्घटना न्यूनीकरणमा जुटौँ’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरुले सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरे । 

सांसद बिमला घिमिरेले सडक दुर्घटनाका समाचार दिनप्रतिदिन बढ्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाका घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न आग्रह गरे । 

‘दिनप्रतिदिन बढ्दो दुर्र्घटनाले हाम्रा सडक कति असुरक्षित छन् भन्ने देखाएको छ । जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको छ’, उनले भने, ‘सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिन आग्रह गर्छु ।’

सांसद जयन्ती राईले सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरे । सांसद कृष्णबहादुर रोकायले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मायाप्रसाद शर्माले सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।  

सांसद मोहम्मद खालिदले सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो भएको उल्लेख गर्दै साँघुरा सडक, सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको बताए । सांसद तुलप्रसाद विश्वकर्माले देशव्यापी रुपमा सडक दुर्घटनाका घटना वृद्धि भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न आग्रह गरे। 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal