Skip to content

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी गुरुप्रसाद न्यौपाने दोषी ठहर

 

काठमाडौं । विशेष अदालतले सेयरको इन्साइडर ट्रेडिङ गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी गुरुप्रसाद न्यौपाने दोषी ठहर भएका छन्। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा मंगलबार उनीमाथि कसुर ठहर गरेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। सजाय भने अर्को पेसीमा तोकिने भएको छ । यही मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपाने र नेपालविरुद्ध १३ कात्तिकमा मुद्दा दायर गरेकोमा पाँच महिना नपुग्दै फैसला आएको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार १५ चैतका लागि सजाय निर्धारणको पेसी तोकिएको छ।

हाइडोपावर व्यवसायी न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष थिए। उनले उक्त कम्पनीको सेयर पदमा बहाल रहेकै बखत खरिद–बिक्री गरेको भेटिएको थियो। यस कार्यमा नेपालले सहजीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो।

न्यौपाने र नेपालविरुद्धको मिलेमतोमा २०७७ चैतदेखि २०७८ साउनसम्म सेयर खरिद–बिक्री गरिएको भेटिएको थियो। दुवै मिलेर १  करोड ९९ लाख रुपैयाँभन्दा बढी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो।

यसअघि उनलाई नेपाल धितोपत्र बोर्डले समेत कारबाही गरेको थियो । सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो ।

तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर पदमा बहाल रहँदाकै बखत ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको हो । 

त्यससम्बद्ध कसुर (इन्साइडर ड्रेडिङ) बाट प्रतिवादी गुरुप्रसाद न्यौपानेले अर्का प्रतिवादी कुवेरमणि नेपाल सहजीकरण र मिलेमतोमा १ करोड १९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति, धारणा एवं निःसर्गसमेत गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको तथ्य प्रमाणित हुन आएकाले न्यौपानेलाई उल्लिखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा एकबमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको मात्राअनुसार कैद सजायको माग विभागले गरेको थियो ।

सम्पत्ति शुद्धीकरण गरी निःसर्ग गरेको १ करोड १९ लाख १० हजार २ सय ५२ रुपैयाँ बराबरको सम्पत्ति सोही ऐनको दफा १८ को उपदफा २ बमोजिम अनुसन्धानका क्रममा रोक्का राखिएको सम्पत्तिमध्ये जफत गर्न र अर्का प्रतिवादी नेपालविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम न्यौपानेलाई हुने सजायको आधा सजाय हुन माग विभागले गरेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal