राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ ।
जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताए ।
चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’को पुनःनिर्माण गर्ने गरी काम थालिएको उनले बताए। मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ ।
आगामी दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले ३१ किलोमिटर नहरको सुरु विन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरेको अध्यक्ष यादवले बताए ।
बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किका कारण मर्मत गर्नुपरेको हो । समयमा मर्मत समयमा नहुँदा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका थिए । २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म ९ करोड रुपैयाँ खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकामा प्रत्येक हिउँद र बर्खायाममा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउन बाध्य रहेको महदेवा गाउँपालिका पकरीका किसान महेन्द्रप्रसाद यादवले बताए ।
चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए तापनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण ‘स्यालो ट्युबवेल’ तथा आकाशे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्