Skip to content

बजेट अभावमा अस्पताल निर्माणमा ढिलाइ

गोदावरी । जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ । 

बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए । 

चालु आर्थिक वर्ष २०८०(८१ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको बताउँदै उनले बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि निकासा नभएको जानकारी दिए । गत मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्षका लागि थप गरिएको छ । 

निर्माण कम्पनीलाई पालिकाले  एक करोड रुपैयाँ पेस्की दिएकोमा  त्यसपछिको कामको भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्पताल जगसहित जमिनमुनिको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउन बजेट नआएकाले ढिलो भएको छ । मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । 

प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार मोहन्याल गाउँपालिका–६, सोल्टामा अस्पताल निर्माणको काम अगाडि बढाइएको थियो ।  अस्पताल भवन निर्माणका लागि प्रशंसा जेभीसँग रु छ करोडमा ठेक्का सम्झौता भएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal