Skip to content

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ गतेदेखि

 

काठमाडौं । यही चैत १६ देखि १९ गतेसम्म काठमाडौँमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो, २०८० सञ्चालन हुने भएको छ । नर्सरी व्यवसायमा रुचि राख्ने, उद्यमी व्यवसायी तथा जिज्ञासुका साथै अध्ययन अनुसन्धानमा संलग्नलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ । 

प्रदर्शनीका संयोजक रामजी कुँवरले सो प्रदर्शनीलाई नर्सरी क्षेत्रको एकीकृत महाकुम्भरुपमा लिइएको बताए । प्रदर्शनीमा पुष्प, फलफूल, वन तथा जडीबुटीमा आधारित नर्सरीका व्यावसायिक उत्पादनको वृहत प्रदर्शनी गरिनेछ । 

‘मेलामा सम्भव भएसम्म देशभरका पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटविरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ’, उनले भने, ‘मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी प्रदर्शनी कक्ष समेत रहनेछ ।’ उनका अनुसार मेलामा ७४ वटा व्यावसायिक कक्ष गरी कुल ९० कक्ष रहनेछन् । 

प्रदर्शनी कम्तीमा ५० हजारले अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । संयोजक कुवँरका अनुसार प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति रु ५० निर्धारण गरिएको छ । 

‘मेलाले नर्सरी व्यवसायको विकास, विस्तारका साथै स्वच्छ वातावरणसहित आय र रोजगार प्रवर्द्धनमार्फत देशभर छरिएर रहेका समग्र नर्सरी क्षेत्र, पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरी व्यवसायीको हकहित र व्यावसायिक क्षमताको अभिवृद्धि गर्ने अपेक्षा छ’, उनले भने, ‘मेलामा व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई उनीहरुलाई हौसला बढाउन नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।’

प्रतिस्पर्धीको मूल्याङ्कनका लागि वनस्पती, माटो र पर्यावरणविज्ञ सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको उहाँले जानकारी दिए ।  उनका अनुसार प्रदर्शनीका अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरी यस क्षेत्रको विकासमा टेवा पुर्याउने एक जनालाई ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी’ सम्मान प्रदान गरिनेछ । 

सङ्घका अनुसार मेलामा बागबानीसम्बन्धी विभिन्न सेवा उपलब्ध गराइने छ । एक्स्पोको प्रवद्र्धकमा पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय छन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal