Skip to content

प्रधानमन्त्रीसहित मन्त्रीलाई म्याग्दीका समस्याका विषयमा ध्यानाकर्षण

म्याग्दी । म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँगको भेटमा सङ्घीय सरकारमार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ ।  सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी भएका थिए । 

माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमानसमेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएका प्रदेशसभा सदस्य भण्डारीले बताए । 

‘भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था, थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,’ उनले भने ‘बेनी अस्पतालको भवन, मालढुङगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा ध्यानाकर्षण गराएका छौँ ।’ 

बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन– रुकुम पूर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उनले बताए । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिङ्गा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगरलगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाटलगायत जलविद्युत, विद्युतीकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो । 

टोलीले सहरी विकासमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनामा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal