Skip to content

पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने

पर्वत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पर्वतका स्थानीय तहलाई ६३ करोड ७१ लाख रुपैयाँ अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ । 

नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् । अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाले पाउने भएको छ  । 

कुश्मा नगरपालिकाले रु १२ करोड ६६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको हो । न्यूनतम अनुदान तीन करोड ५० लाख रुपैयाँ, सूत्रमा आधारित अनुदान ८ करोड ८० लाख र कार्यसम्पादनमा आधारित अनुदान ३६ लाख रुपैयाँ पाउने भएका छन् ।

त्यसैगरी, मोदी गाउँपालिकाले नौ करोड ६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ जसमा न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान  पाँच करोड ६१ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ४५ लाख रुपैयाँ छ । जलजला गाउँपालिकाले नौ करोड ३८ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ  । पालिकाले न्यूनतम अनुदान रु तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान पाँच करोड ६८ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ५४ लाख रुपैयाँ पाउने छन् । 

फलेवास नगरपालिकाले रु नौ करोड ८७ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । नगरले न्यूनतम अनुदान रु तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान रु ६ करोड २२ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ३१ लाख पाउने भएको छ । महाशिला गाउँपालिकाले रु सात करोड ११ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । महाशिलाले न्यूनतम अनुदान रु दुई करोड रु ७५ लाख, सूत्रमा आधारित अनुदान रु तीन करोड ७५ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ६१ लाख पाउने भएको छ ।

यसैगरी, बिहादी गाउँपालिकाले रु सात करोड ६४ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । बिहादीले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान रु चार करोड १४ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ५० लाख पाउने छ । पैयूँ गाउँपालिकाले रु आठ करोड आठ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पैयूँले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान रु चार करोड ५७ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ५१ लाख पाउने भएको छ । 

अनुदानसँगै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निर्धारण गर्ने बजेट वृद्धि हुने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal