Skip to content

पर्यटन बोर्डको नेतृत्व चाँडै: पर्यटनमन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको नेतृत्व केही दिनमै पूर्णता दिइने बताएका छन् । 

     नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समिति सदस्य चाँडै नियुक्त गरिने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटन बोर्डको नेतृत्व अन्तिम चरणमा पुगेको छ । बोर्ड गठनलाई पूर्णता दिएपछि लगत्तै सिइओ नियुक्ति प्रक्रियालाई पनि पूर्णता दिन्छौँ । पर्यटन क्षेत्रले नेतृत्वतहमा महसुस गरेको अभावलाई पूरा गर्न चाँडै लाग्छौँ, म मन्त्रीको हैसियतले प्रतिबद्धता व्यक्त गर्दछु ।”

     कार्यक्रममा पूर्वपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालदेखि पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने बोर्ड अहिले नेतृत्वविहीन र कमजोर अवस्थामा रहेको भन्दै चाँडो नेतृत्व प्रदान गरी प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री समक्ष आग्रह गरेका थिए ।

 

     बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले चारवर्षे कार्यकाल पूरागरी गत माघ १४ गते अवकास पाएपछि पद रिक्त छ । तीन जना बोर्ड सदस्य पनि खाली रहेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्ड स्थापना भएको थियो । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुरुप अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि बोर्ड स्थापना गरिएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारीबाट पाँच जना गरी १० जना, एक जना सिइओ गरी ११ सदस्य रहन्छन् । पर्यटन सचिव बोर्डको अध्यक्ष रहने प्रावधान छ ।

नाथम र प्रतिष्ठान चाँडै समायोजन

     पर्यटनमन्त्री तामाङले नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रतिष्ठानलाई चाँडै समायोजन गर्ने बताउँदै यसबाट नेपालको पर्यटन विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । मन्त्री तामाङले दुवै संस्था समायोजन गर्ने र मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन  तयार गरिसकेकाले उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने बताए । 

     गठन आदेशबाट निर्माण भएको नाथमलाई संस्थागत व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक ऐन बनाउने तयारी गरिरहेको र त्यसलाई छिट्टै संसदबाट पारित गरिने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री तामाङले नाथम र प्रतिष्ठानको समायोजनबाट पर्यटन प्रवर्द्धनका साथै दक्ष जनशक्ति उत्पादन, रोजगारी सृजना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

     पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले नाथमले नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी भूमिका निर्बाह गरिरहेको बताए । उनले  गुणस्तरीय जनशक्ति उत्पादनमा संस्थाले आगामी दिनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

तत्कालीन पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९७२ मा आइएलओ र युएनडिपीको सहयोगमा होटल तथा पर्यटन तालिम केन्द्रको रुपमा नाथम स्थापना भएको थियो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सन् १९९९ देखि बिएचएम शैक्षिक कार्यक्रम सुरु गरेपछि यो नाथममा परिणत भएको थियो । नाथमका कार्यकारी निर्देशक ढुन्डीप्रसाद निरौलाका अनुसार संस्थाले हालसम्म शैक्षिक कार्यक्रम र तालिम गरी ६० हजारभन्दा बढी जनशक्ति उत्पादन गरेको छ । 

दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक कार्यक्रम एवं तालिम प्रदान गर्ने संस्थाको रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको नाथमलाई नेपालको पहिलो पर्यटन विश्वविद्यालयको रुपमा स्थापना गर्नुपर्ने दीर्घकालीन योजना रहेको कार्यकारी निर्देशक निरौलाले बताए । 

     कार्यक्रममा पूर्वपर्यटन सचिव ढकालले दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने नाथमको नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताए । काठमाडौँ विश्वविद्यालयका कुलसचिव प्रा डा अच्युत वाग्लेले नाथमले उत्पादन गरेका दक्ष जनशक्ति देश तथा विदेशमा स्थापित रहेको भन्दै संस्थालाई नीतिगत सुधार गरेर आगामी दिनमा थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गरे । 

     होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नाथमको मोडल होटललाई देशकै मौलिक होटलको रुपमा विकास गरिनुपर्ने धारणा राखे । ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा नाथमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal