Skip to content

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

सर्लाही ।  सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए। ‘परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ’, उनले भने, ‘हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।’

यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन् । एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन् । जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् । 

एकाइका अनुसार सामुदायिक विद्यालयबाट नौ हजार पाँच सय ६२ र संस्थागत तर्फबाट एक हजार तीन सय ३४ छात्रछात्रा एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिए । यस्तै जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिगाह थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।

कुशवाहका अनुसार यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, पाँच सय ४४ निरीक्षक, एक सय तीन सय परीक्षा सहायक र अन्य गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसगँ समन्वय गरिएको उनले बताए ।

एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए  

यस्तै सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसइई परीक्षा दिएका छन् । बागमती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इलाका प्रहरी कार्यालयका प्रमुख अनिलराज गिरीले जानकारी दिए । 

आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमै परीक्षाको व्यवस्था मिलाइको प्रहरीले जनाएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal