Skip to content

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरे ।

    

आज यहाँ आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) को १०औँ वार्षिक साधारणसभामा सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पु¥याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताए । विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    

भूकम्पपछिको पुनःनिर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताए । इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरे । आगामी वैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उनको भनाइ छ ।

    

‘नेपालले लगानी सम्मेलन आयोजना गर्दैछ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्टट्र्याक’मा संशोधन हुँदैछन्’, सञ्चारमन्त्री शर्माले भने, ‘सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।’

नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुई देशबीचको आर्थिक तथा व्यापारिक साझेदारीलाई थप बढाउन निजी क्षेत्रले भूमिका खेल्ने बताए । नेपालको निर्यात व्यापारलाई कसरी बढाउन सकिन्छ र मुलुकको अर्थतन्त्रलाई योगदान पुर्याउन सकिन्छ भनेर निजी क्षेत्रले प्रयास गरिरहेकामा सरकारका तर्फबाट साथ सहयोगको अपेक्षा रहेको उनले बताए ।

    

इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेयले दुई देशको व्यापार र लगानी साझेदारीका लागि थप पहलको आवश्यकता औँल्याए । लगानी तथा व्यापार सहजीकरणका लागि पनि उनले आग्रह गरे । सोही कार्यक्रममा सञ्चारमन्त्री शर्माले ‘एनआइसिसीआई डाइरेक्टरी’को अनावरण पनि गरेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal