Skip to content

नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न मित्रराष्ट्रको सहयोग आवश्यक छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताएकी छन् । 

जापानिज युनिभर्सिटिज एलुम्नाई एशोसियसन (जुआन) नेपालको वार्षिक कार्यक्रम तथा ५०औँ स्वर्णजयन्ती समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले जतिसक्दो चाँडो विकासशील हुँदै नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न जापानसहित सबै विकसित मित्रराष्ट्रबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताइन् ।

‘हामी अब देशभित्रको स्रोतसाधन तथा विज्ञान र प्रविधिले सिर्जना गरेका सबै नवीनतम आविष्कारको उच्चतम उपयोग गर्दै समृद्धिको यात्रामा अघि बढ्नुछ’, मन्त्री शर्माले भनिन् ‘हाम्रा मित्रराष्ट्र विकसित मुलुकका रुपमा स्थापित भइरहँदा हामी अझै विकासोन्मुख देशको सूचीमा रहन बाध्य छौँ, यो अवस्था अब धेरै समय रहनुहुँदैन ।’ उनले जापानी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्केका जुआनका सदस्यले नेपालको स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ, नीति निर्माणलगायत विभिन्न क्षेत्रका उच्च तहमा योगदान गरिरहेको उल्लेख गरिन् । 

‘जापानबाट नेपालले सिक्नुपर्ने कुराका बारेमा जुआनले अझै सक्रियरुपमा बहस चलाओस् भन्ने आग्रह पनि गर्न चाहन्छु, साथै जुआनजस्ता संस्थामा आबद्ध साथीहरुले विकसित देशमा गरेका अध्ययन र अनुभवको अधिकतम परिचालन गरेर मुलुकको समृद्धिका लागि थप योगदान गर्ने सरकारको अपेक्षा छ’, मन्त्री शर्माले भने । पछिल्लो समयमा अध्ययनका लागि विदेश जाने नेपालीमध्ये धेरैले अध्ययनभन्दा बढी श्रममा ध्यान दिने गरेको उल्लेख गर्दै  उनले श्रमसँगै अध्ययनलाई पनि प्राथमिकता दिनुपर्ने बताए । 

‘श्रमलाई मात्रै महत्वप दिने प्रवृत्ति बढ्न थालेको गुनासा सुनिन थालेका छन् । यसलाई निरुत्साहित गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानेको उच्च शिक्षाको सुनिश्चिचता गरी पठनपाठन पूरा गरेपछि देशका लागि योगदान गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक छ । यसका लागि जुआनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्तु छु’, मन्त्री शर्माले भनिन् । जुआनले विगत ५० वर्षदेखि सक्रियरुपमा आफ्नो क्रियाकलाप गर्दै आइरहेकामा उनले खुशी व्यक्त गर्दै थप सफलताको शुभकामना व्यक्त गरिन् । मन्त्री शर्माले नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि जापान जान थालेको झण्डै एक सय २२ वर्ष भइसकेको बताइन् । 

मन्त्री शर्माले भने, ‘एक सय २२ वर्षअघि तत्कालीन सरकारले आठ विद्यार्थी पढ्न पठाएकामा अहिले बर्सेनि हजारौँ विद्यार्थी जापान अध्ययन गर्न जाने गरेका छन् । गत वर्ष मात्रै १६ हजारभन्दा बढीले जापान अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ ।’ उनले जापानले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत, भूकम्पपछिको पुनःनिर्माणलगायत चौतर्फी विकासमा सहयोग गर्दै आइरहेको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताइन् । मन्त्री शर्माले जुआनमा आबद्ध व्यक्तिहरुले जापानबाट आर्जन गरेको शिक्षा र सीप परिचालन गर्दै नेपालका विभिन्न क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गरिन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal