Skip to content

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छः उपसभापति गुरुङ

सुनसरी ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरु¬ङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा आज आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्छ भने ।  उनले भने, ‘कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले कतिबेला प्राविधिक कुरा गर्ने र कतिबेला नीतिगत कुरा गर्ने विषयमा अल्झिने गरेका कारणले पटक–पटक समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन् । 

उनले भने, ‘केन्द्रीय सत्ता समीकरण फेरबदल हुँदैमा कोशी प्रदेश सरकारलाई केही असर गर्दैन  । प्रदेश सरकारले अहिले मध्याधि निर्वाचन गर्दैन ।  विश्वासको मतसमेत दुई वर्षसम्म लिँदैन।’” 

कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चारमाध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा बौद्धिक अराजकताविरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्छ भने। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हेमराज दाहाल, दिवस पोखरेललगायतलाई सम्मान गरिएको थियो ।  प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको युनियन सुनसरीका सदस्य नसिम अन्सारीले जानकारी दिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal