Skip to content

नेपाललाई संसार चिनाउन कर्णालीको महत्त्वपूर्ण भूमिका छः प्रदेश प्रमुख परियार

कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नेपाललाई संसारमा चिनाउन कर्णाली महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

रेड चिल्ली प्रालिद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’को उद्घाटनमा प्रदेश प्रमुख परियारले कर्णाली प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको बताए । उनले भने, ‘कर्णाली सम्भावनाको खानी हो । यसको भरपूर उपयोग गर्न सक्नुपर्छ ।’ यहाँको संस्कृति, भाषा, साहित्य, कलाको विकासले नेपालको स्वर्ग कर्णाली प्रदेश बन्ने विश्वास उनले व्यक्त गरे ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्मचारी, योजना साहित्य र चलचित्र क्षेत्रमा कर्णालीले ठूलो प्रभाव पारेको बताए । उनले भने, ‘एघारौँ र बाह्रौँ शताब्दीमा सुर्खेत काक्रेबिहार, दुल्लु, सिञ्जाहुँदै कैलाश जाने महत्त्वपूर्ण व्यापारिक मार्ग थियो । अहिले पुनःउदय हुन थालेको छ ।’

नेपाली भाषा, सभ्यता, साहित्य, कला र संस्कृतिको जननी मानिएको कर्णालीले धेरै लेखक, साहित्यकार एवं कवि बनाउने बताए । उनले कथाका माध्यमबाट यहाँको सांस्कृतिक, सामाजिक पहिचानलाई माथि उठाउन सके कर्णाली नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । 

प्रतिनिधिसभा सदस्य सोविता गौतमले कर्णाली जत्तिको सुन्दर नेपालमा अरु कुनै पनि ठाउँ नभएको जिकिर गरे । कर्णालीको भूगोल अवलोकन गर्ने उद्देश्यले गत वर्ष स्थलगत यात्रा गरेको बताउँदै उनले कर्णाली भेरी करिडोरमा ट्रेकिङ ट्रेलको सम्भवना भएकाले यहाँको सुन्दरतालाई विश्वसामु चिनाउन सकिए सिङ्गो नेपालकै आर्थिक समृद्धि हुने जनाए । कर्णालीका चुनौती र अप्ठ्यारालाई अवसरका रूपमा लिई विकासमा जोड दिनुपर्ने सांसद गौतमको भनाइ थियो ।

चलचित्र निर्देशक आकाश अधिकारी कर्णाली प्रदेश कला, संस्कृति सभ्यता, वेशभूषा जननी भएको बताए । उनले भने, ‘यहाँको लवज र बोलिने शब्द कर्णप्रिय छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन चलचित्र क्षेत्रले मात्र सक्छ ।’ 

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित सुरु महोत्सवमा कर्णालीका मौलिक कथा, परिवेश र चलचित्र, कर्णालीमा चलचित्रको विकास र राज्यको भूमिकाका विषयमा अन्तक्र्रिया भएको थियो । कार्यक्रमका सहभागीले विकास गर्नेका लागि कर्णाली उपयुक्त थलो भएको सुझाउँदै यहाँको संस्कृति र सभ्यता संरक्षण तथा प्राकृतिक सम्पदाको विकास नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal