Skip to content

हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । 

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट  १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा  नौ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान,  पाँच सय दरका छ सय २२ थान,  एक सय दरका एक सय नौ थान,  ५० को एक थान र  २० को एक थान नेपाली रुपैयाँ नोट बरामद गरेको हो । 

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal