Skip to content
Prabhu

पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छ सय छ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको बताए । ‘गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ’, उनले भने, ‘अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ ।

 विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’ ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उहाँको भनाइ  छ । 

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ । ट्रकबाट  ८८ लाख १९ हजार दुई रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख  ३० हजार  पाँच सय राजस्व सङ्कलन भएको छ । 

त्यस्तैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने काररजीपरभ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ ।  ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ । 

कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal