Skip to content

सगरमाथा आरोहणका लागि ६३ आरोहीले लिए अनुमति

काठमाडौँ । वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए । 

हिमाल आरोहणको अनुमति बापत्  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले 

सगरमाथा आरोहणको अनुमति लिएका थिए । यस वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal